प्रधानमन्त्री प्रचण्डले भने- हत्त न पत्त राजीनामा माग्ने संस्कार राम्रो होइन
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यो राम्रो संस्कार नभएको बताएका छन् ।

इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करीलाई लिएर गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासामा यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन, स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन ।’

उनले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।

सरकारको संलग्नता नभइ उक्त परिमाणको सुन बाहिरिन नसक्ने भन्दै एमालेले उच्चस्तरीय संयन्त्रको माग गरेको छ । एमालेसहित सत्ता पक्षका सांसदले समेत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया