स्वदेश फर्किए प्रधानमन्त्री ‘प्रचण्ड’
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच पनि भेटवार्ता भएको थियो । भेटका क्रममा उनीहरुबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहाल र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकनबीच भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री दाहालसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट ृआइएफएडीेका प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए ।

प्रतिक्रिया