काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ११ श्रावण

काठमाडौं, ११ साउन । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको गाडीभाडा घटाएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

योसँगै अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जनाएको छ । १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो । भने १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

यस्तै, १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ । २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

यसैगरी उपत्यका बाहिर जाने सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको पाँच रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।

यता वाग्मती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारीसाधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको छ ।

सूची :

प्रतिक्रिया