काठमाडौं, ११ साउन । महोत्तरीमा हतियार देखाएर दिउँसै बैंक लुटपाट गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा दिउँसै एक समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए ।
प्रहरीले सोही बैंक लुटपाट कार्यमा संलग्न भारत बिहार राज्यको जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार साफीलाई पक्राउ गरेको हो ।
उनलाई बुधवार मटिहानी नगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको छ ।
जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको उनले बताए । डिएसपी गिरीका अनुसार उनीसँगको सोधपुछपछि लुटपाटमा संलग्न अन्य ४/५ जना व्यक्तिहरूको समेत पहिचान खुलेको छ । प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई तीव्रता दिएको डिएसपी गिरीले जानकारी दिए ।