चार वर्षअघि नै श्रीमानसँग सम्बन्धविच्छेद गरेको माल्भिका सुब्बाको खुलासा
अखबार टुडे
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन् । सञ्चारकर्मीसमेत रहेकी माल्भिकाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको आफैँले खुलाएकी हुन् ।

अभिनेत्री प्रियंका कार्कीले सञ्चालन गरेको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथिका रुपमा पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्धविच्छेद गरेको बताइन् । माल्भिकाले आफ्ना छोरा दुई वर्षको हुँदा घर छाडेको बताएकी छन् ।

उनले कार्यक्रममा भनेकी छन्, ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छाडेर जाँदासम्म हाम्रो सम्बन्ध राम्रो थिएन । हामी एक-अर्कासँग बोल्न पनि सक्दैन थियौ । हामी जहिल्यै झगडा गर्दथौँ । तर, बाबु कोठामा हुँदैनथियो वा नजिक हुँदैनथ्यो । ऊ धेरै नै सानो थियो । छोरा दुई वर्षको हुँदा मैले घर छोडेँ । मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ ।’

श्रीमानसँग सम्बन्धविच्छेद गर्दा आफूलाई परिवारले समर्थन गरेको बताएकी छन् । उनले भनेकी छन्, ‘मलाई परिवारले समर्थन गर्नुभएको छ । अहिले ठिक छ । त्यो समर्थन लिन पनि मलाई तीन–चार वर्ष लाग्यो ।’

घर छाडेको ४ वर्षपछि सम्बन्धविच्छेद गरेको ख्लासा गरेकी माल्भिकाले भनेकी छन्, ‘मैले सम्बन्धविच्छेद गर्दा केही लिइनँ । मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ । हामीले समझदारीमै छोराको को–कस्टडी गर्ने निर्णय लियौं । सम्बन्धविच्छेद गरेर पछुताएको होइन । तर, त्यति बेला मैले रित्तो महसुस गरेँ ।’

प्रतिक्रिया