चिनियाँ विदेशमन्त्री बेपत्ता हुनुको रहस्य- प्रेम सम्बन्धको अनुमानदेखि पदबाट हटाउनेसम्म
अखबार टुडे
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्वासपात्र छिन काङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ । एक महिनादेखि सार्वजनिक मञ्चबाट बेपत्ता काङलाई अन्ततः चिनियाँ विदेशमन्त्रीको पदबाट बर्खास्त गरिएको हो ।

छिन काङको स्थानमा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी पुनः विदेशमन्त्री नियुक्त भएका छन् । उनलाई हटाउनुको कारण स्पष्ट रूपमा खुलाइएको छैन । यति मात्रै भनिएको छ, ‘छिन काङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ । चीनको शीर्ष विधायिकाले विदेशमन्त्रीको रूपमा वाङ यीको नियुक्तिको पक्षमा भोट दिएको छ ।’

अमेरिकाका लागि पूर्व राजदूत रहेका काङ गत डिसेम्बरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सीधै विदेशमन्त्री बनेका थिए । ५७ वर्षका छिन काङलाई अन्तिम पटक २५ जूनमा सार्वजनिक रूपमा देखिएका थियो । उनी एक महिनासम्म सरकारी काममा अनुपस्थित रहनुको कारण स्वास्थ्य रहेको बताइएको छ ।

टिभी प्रस्तोतासँग अफेयरको अफवाह
एक महिला टेलिभिजन प्रस्तोतासँग उनको अफेयरको हल्ला सामाजिक सञ्जालमा चल्न थाल्यो । यी कार्यक्रम प्रस्तोता मिडियामा निकै सक्रिय थिइन् तर यो अड्कलबाजीपछि उनी अचानक गायब भइन् । चीनका केही विज्ञहरूका अनुसार चिन गाङका राजनीतिक विपक्षीहरूले यो अफेयरलाई नैतिकताको प्रश्न बनाएर कम्युनिस्ट पार्टीमा प्रयोग गरेको हुनसक्छ ।

यस्ता कार्य कानुन विपरीत नभए पनि पार्टी अनुशासनको उल्लङ्घनका रूपमा लिइन्छ । तर स्वास्थ्य सङ्कटको सम्भावनालाई पनि नकार्न सकिँदैन । चीनको कम्युनिस्ट पार्टीको काम गर्ने जुन तरिका छ, त्यसमा यी दुवै सम्भावनालाई न त पुष्टि गर्न सकिन्छ न यसलाई खारेज नै गर्न सकिन्छ ।

चिन बेपत्ता हुनुको रहस्य
छिन काङ चिनियाँ सरकारमा चर्चित अनुहार थिए र उनको अनुपस्थितिको चर्चा कूटनीतिक वृत्तमा मात्रै नभएर आम चिनियाँ जनतामा पनि चलिरहेको थियो ।

उनलाई गत डिसेम्बरमा सी जिनपिङले विदेशमन्त्री नियुक्त गरेका थिए र एक महिनाअघि उनले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटेका थिए । उक्त भेटमा दुई देशले उच्च स्तरमा कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका थिए ।

एक महिनाअघि चिन इन्डोनेसियामा भएको बैठकमा भाग लिनुपर्ने थियो तर उनी त्यहाँ पुगेनन् । उनलाई ‘केही स्वास्थ्य सम्बन्धी समस्या’ भएको जानकारी दिइएको थियो ।

यसबारे उनको मन्त्रालयले कुनै खास जानकारी दिएको छैन, तर धेरैले उनलाई राजनीतिक कारणले उनलाई सजाय दिइएको वा विवाहेत्तर सम्बन्धका कारण यस्तो भएको हुनसक्ने अनुमान धेरैले लगाए ।

जुलाई ४ मा उनले युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेललाई भेट्ने भए पनि कुनै कारण नदिई मिति थपिएपछि हल्ला चर्कियो । यद्यपि, लामो समयसम्म सार्वजनिक रूपमा अचानक गायब हुनु चीनको हाई प्रोफाइलका लागि नौलो कुरा भने होइन ।

शी जिनपिङ चीनको राष्ट्रपति बनेलगत्तै पन्ध्र दिनको लागि अचानक बेपत्ता भए । त्यति बेला उनको स्वास्थ्य र सम्भावित शक्ति सङ्घर्षको बारेमा अनुमान लगाइयो ।

छिन काङको नाटकीय वृद्धि

छिन काङको विदेशमन्त्री पदसम्मको यात्रा निकै नाटकीय रहेको बताइएको छ । देशको प्रमुख पदबाट चिन पतन हुनुको सबैभन्दा अचम्मको पक्ष यो हो कि उनलाई चीनका सबैभन्दा शक्तिशाली नेता स्वयम् राष्ट्रपति शी जिनपिङको समर्थन थियो ।

छिन काङलाई हटाउने आदेशमा शी जिनपिङ आफैँले हस्ताक्षर गरेका थिए भन्ने खबर प्रकाशित भएका छन् । शी जिनपिङले छिन काङलाई वासिङ्टनबाट ल्याएका थिए, जहाँ उनी अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा काम गरिरहेका थिए ।

चीनको इतिहासमा यति कम उमेरका (५७ वर्ष) कोही व्यक्ति यस पदमा नियुक्त भएका छैनन् । त्यसअघि उनी विदेशमन्त्रीका प्रवक्ता थिए र शी जिनपिङको विदेश भ्रमणको आयोजनाको जिम्मेवारी उनकै काँधमा थियो । यहीँबाट शी जिनपिङसँग उनको निकटता बढ्यो ।

छिन काङमाथि के भइरहेको छ, त्यसका लागि चीनमा अत्यधिक उत्सुकता छ । देशको सबैभन्दा ठुलो सर्च इन्जिन बाइडूमा उनको नामको सर्चमा अचानक वृद्धि देखिएको छ । विश्लेषकका अनुसार चिनियाँ इन्टरनेटमा यी शीर्ष अधिकारीबारे अफवाहमा कुनै सेन्सरसिपबिना चर्चा हुनु अचम्मको कुरा हो ।

अघिल्लो हप्ता सिंगापुर नेशनल युनिभर्सिटीका इयान चोंगले बीबीसीसँग भनेका थिए, ‘चर्चामा सेन्सरसिप नभएका कारण मानिसहरू अचम्ममा परिरहेका छन् । सत्ता सङ्घर्ष, भ्रष्टाचार, पद र सत्ताको दुरुपयोग वा रोमान्टिक अफेयर त यसको कारण होइन भन्ने कुरामा मानिसहरू व्यापक उत्सुक छन् ।’

छिन काङको छवि
छिन काङ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुँदा चीनको कडा रूपमा रक्षा गर्ने व्यक्तिको रूपमा उनको छवि बनेको थियो । उनी धाराप्रवाह अङ्ग्रेजी बोल्छन् र एक उत्साही खेल प्रशंसक पनि हुन् ।

यी कुराले उनलाई आकर्षक व्यक्तित्व बनाउँथ्यो । उनी एकदमै आधुनिक प्रकारका, बुद्धिमान् कर्मचारी थिए जसको कम्युनिस्ट पार्टीलाई सबैभन्दा बढी आवश्यकता थियो । तर अहिले उनको भविष्य अज्ञात छ । उनको सन्दर्भ विदेश मन्त्रालयको वेबसाइटबाट पनि हटाइएको छ ।

यसलाई जसरी लिएपनि यो राम्रो सङ्केत भने होइन । केही सातादेखि चलिरहेको भ्रम अन्त्य भएको छ तर चिनको बिदाइले धेरै प्रश्न पनि निम्त्याएको छ ।

नयाँ विदेशमन्त्री वाङ यी

चिनियाँ कम्युनिस्ट पार्टी प्रणालीमा परराष्ट्र नीतिलाई शीर्ष तहका अधिकारीले तय गर्ने र सोही अनुसार परराष्ट्रमन्त्रीले यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

वाङ यी एक व्यावसायिक कूटनीतिज्ञ हुन् र जापानी भाषा पनि जान्दछन् । उनी २०१३ देखि २०२२ सम्म विदेशमन्त्री थिए । उनी चिनको समर्थनमा छन् र यति बेला दक्षिण अफ्रिकामा ब्रिक्स राष्ट्रिय सुरक्षा बैठकमा भाग लिइरहेका छन् । विश्लेषकहरूले ६९ वर्षीय वाङको नियुक्तिलाई चीनको कूटनीतिलाई स्थिर बनाउने प्रयासको रूपमा पनि हेर्छन् । – बीबीसीबाट

प्रतिक्रिया