काठमाडौं, ९ साउन । निर्वाचन आयोगले चुनाव खर्च विवरण पेश नगर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाईअ१५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ ।
आयोगले प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो ।
तर समयमै खर्च विवरण पेश नगरको भन्दै प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ ।
निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।