काठमाडौं, ९ साउन । नेपाली कांग्रेस नेता डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको बताएकी छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो । यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’ यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन् ।