एनआरएनए निर्वाचन : मैदानमा उत्रिएकी रोजी भन्छिन्- सधैं काम गर्ने महिला बन्न चाहन्छु
अखबार टुडे
प्रकाशित:
२०८०, ८ श्रावण

काठमाडौं, ८ साउन । यही जुलाई २९ मा अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्यहाँ एनआरएनएहरुलाई चुनावी सरगर्मीले छोइसकेको छ । र, कतिपय चुनावी मैदानमा उत्रिएर एनआरएनएको नेतृत्व गर्ने जमर्कोमा जुटेका छन् ।

यसैमध्येकी एक हुन्, रोजी पन्त । पहिलो कुरा त उनको धारणा र भनाइले एनआरएनएलाई प्रभावित पार्न सक्छ । उनी भन्छिन्, ‘म खाजा खाने होइन, सधैं काम गर्ने महिला बन्न चाहन्छु ।’

उनी २९ जुलाईमा हुने निर्वाचनमा अनिल पोखरेलको नेतृत्वको समूहमा सह–कोषाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएकी हुन् । त्यसो त उनी एक उम्मेदवार बनेर निर्वाचनमा होमिएकी पात्रमात्र होइनन् । उनका नेपथ्यमा अनेक गुण छन् । कतिपय नेपाली समुदायमा रहेका व्यक्तित्वले ति गुण बिम्बित भएको देखेका छन्, कतिपयले प्रमाणका रुपमा उनका कर्मले साबित गराएका छन् ।

उनी सामाजिक काममा सक्रिय हुने एनआरएनएका लागि दुई बर्षअघि एसीसी सदस्यमा अत्यधिक मतले निर्वाचित भएकी थिइन् । र, योग्यताको परीक्षणमा उनी अब्बल बनिन् । अहिले आएर उनी अब समुदाय र देशलाई पनि सफल बनाउन सकिन्छ भन्ने धेयले एनआरएनएमार्फत जिम्मेवारीताको बलियो कसीमा उभिने प्रयत्नमा लागेकी छन् ।

‘यदि कुनै मानिसले खराब तपाईलाई सिट्टी बजाउँछ भने, पछाडि नहेर्नुहोस् । तपाईं कुकुर होइन, महिला हुनुहुन्छ’ भन्ने भनाईलाई राम्रोसँग आत्मसाथ गरेकी उनी सकारात्मक सहयोगी हातका लागि समुदायतिर फर्किएकी छन् ।

१५ बर्षअघि अस्ट्रेलियामा पहिलो पाइला टेकेकी उनी नेपाली समुदायमा संघर्ष गर्दै न्युक्यास्टलमा एउटा व्यावसायीक नाम स्थापनामा सफल भइन् । ‘नेपालमै स्थापित हुनका लागि एउटा महिलाका लागि कति चुनौति होलान्, अस्ट्रेलियामा आएर व्यावसायिक नाम, सामाजिक परिचय र नामसहित योगदान गर्ने साहस जोकोहीले कहाँ सक्छ र ? उनको उडान देखेका नेपाली समुदायका व्यक्तिहरू भन्छन्, ‘हरेक क्षेत्रलाई जान्न सक्ने महिला हुन् । कर्मशील छिन् उनी ।’

अर्बिट अस्ट्रेलिया ग्रुप, अर्बिट इनरोलमेन्ट एजुकेशन कन्सलट्यान्सी, अर्बिट होमस्, एनडीआईएस ई–केयर प्लस नर्सिङ एजेन्सी स्थापित गरी पन्तले कम्तिमा तीन सय जनालाई रोजगारी दिएकी छन् । ‘एउटा महिलाले साथीसँगको सहकार्यमा व्यवसायिक प्रतिष्ठान खडा गरी रोजगारी सृजना गर्नु असाधारण विषय हो’, उनीनिकट भन्छन्, ‘देशमा यस्तो प्रतिष्ठान तयार पार्न कठिन हुँदा परदेशमा गर्न सक्नु चानचुने कुरा होइन ।’

रोजगारी एकातिर छ, अर्कातिर समुदायमा परेका समस्यामा आर्थिक र सामाजिक रुपमा हातेमालो गरी विद्यार्थीको जीवनलाई सहज बनाउन पन्तले कन्जुस्याँई गरिनन् । उनी भन्छिन्, ‘नेपालीका लागि त नेपाली पहिलो प्राथमिकता सँधै रहन्छ । तर, मानवका लागि मानवको कर्तव्य पनि कम छैन, भुल्न हुँदैन ।’

कोभिडले आक्रान्त पार्दा रोजगारी गुमाएका विद्यार्थीका लागि सहयोग, नेपालमा भएका महाभूकम्पदेखि अनेकपटक देखिएका समस्यामा मल्हम लगाउने चाँजोपाँजो गर्न पनि पन्त पछाडि परिनन् ।

पन्त मनोरञ्जनात्मक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । विदेशमा संस्कृतिको पहिचान गराउन अगाडि रहेकी उनले कतिपय म्युजिक भिडिओमा अभिनय पनि गरेकी छन् ।

एनआरएनएमार्फत नेपाली समुदायमा अझ रिझाउनेगरी काम गर्न सक्ने ठानेकी उनी भन्छिन्, ‘दुई बर्षअघि नै संस्थागतरुपमा उभिँदा अझ बलियोगरी काम गर्न सकिने ठानेर यसपटक सह-कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।’

पन्त यसअघि एनआरएनए अस्ट्रेलियामा जिम्मेवार पदमा निर्वाचित भइ काम गरेकी अनुभवी पात्र हुन् । दुई बर्षअघि एनआरएनए अस्ट्रलियाको एससीसी सदस्यमा भारी बहुमतले बिजयी भई संस्थामा काम गरेकी अनुभवी महिला हुन् ।

शक्तिका लागि होइन, योगदानका लागि पन्त अगाडि बढेकी हुन् । त्यसैले उनी भन्छिन्, ‘शक्ति नियन्त्रणमा हुँदैन । शक्ति हस्तान्तरण गर्नुपर्छ । नेता त्यो होइन, जसले आफू बलियो हुन अरूलाई बाध्य पार्छ; आफ्नो शक्ति दिएर मतदातालाई बलियो बनाउनुपर्छ ।’

यसैले होला सायद, संसारमा सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर चीजहरू हृदयले महसुस गर्दै पन्त चुनावी मैदानमा उत्रिएकी हुन् । र, उनी आफ्नो जितका लागि पनि विस्वस्त छिन् ।

प्रतिक्रिया