यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने सात नेपाली चलचित्र, कुनको ग्रस कलेक्सन कति ?
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । चलचित्र विकास बोर्डले गएको आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाइको तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको व्यापार भएको छ ।

स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज बीसीको निर्देशनमा रहेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ ले १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत् चलचित्र निर्माण शुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ ।

सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ रहेको छ । शनिवार भोलि प्रदर्शनको सय दिन पूरा गर्ने यो चलचित्रको गएको असार ३१ सम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएको छ । बोर्डको विवरणअनुसार चलचित्रले १७ करोड १७ लाख ९९ हजार १८ रुपैयाँ ग्रस व्यापार भएको छ ।

सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार आठ सय ६७ रुपैयाँको ग्रस व्यापार भएको छ ।

चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको चलचित्र ‘महापुरुष’ रहेको छ । चलचित्रले दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९१ हजार नौ सय २० रुपैयाँको ग्रस व्यापार गरेको छ ।

पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७५ हजार सात सय ७० रुपैयाँको ग्रस व्यापार भएको छ ।

यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएको छ । चलचित्रले तीन करोड ५३ लाख २० हजार चार सय ७९ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँ स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार भएको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।

प्रतिक्रिया