एनआरएनए निर्वाचन : राज्य उपसंयोजक दावेदार अमर परिणाम सुखद आउनेमा आशावादी
अखबार टुडे
प्रकाशित:
२०८०, ५ श्रावण

काठमाडौं, ५ साउन । यतिखेर अष्ट्रेलियामा गैरआवासीय नेपाली नेपाली संघ (एनआरएनए)लाई चुनावी चटारोले छोएको छ । बुहसंख्यक नेपाली बसोबास गर्ने अष्ट्रेलियामा यही २९ जुलाईमा हुने एनआरएनएको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भइसकेको छ । आफ्नो नाममा जित दर्ता गर्न उम्मेदवारहरु प्रचारप्रसारमा समेत जुटिसकेका छन् ।

यस्तै, अष्ट्रेलियामा ढेड दशकदेखि संघर्ष गर्दै आएका व्यवसायी अमर रसाइँली पनि चुनावी मैदानमा होमिएका छन् । अष्ट्रलियाको न्युक्यास्टलमा व्यवसायी गर्दै आएका डम्बर अर्थात् अमर रसाइली अब समुदायका लागि मात्र नभई देशका लागि समेत योगदान गर्ने लक्ष्यसहित आगामी २९ जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको राज्य उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवा जोश र जाँगरले भरिएको अनिल पोखरेलको टिमबाट राज्य उपसंयोजक पदमा मैदानमा उत्रिएका रसाइँलीका लागि यो पहिलो चुनावी अनुभव भएपनि योगदान गर्ने अठोटचाहिँ नयाँ होइन । मिहिनत र संघर्षबाट उठेका उनी अहिले एक कर्मठ व्यावसायीका रुपमा परिचित छन् । उनै रसाइँलीले अब एनआरएनएमार्फत जिम्मेवार प्रतिनिधिका रुपमा स्थापित हुने लयमा छन् ।

उनी भन्छन्, ‘परदेशमा भएर यहाँ रहेका समुदायको संरक्षण र सुरक्षणको सवाल उठाउनका लागि पनि एउटा संस्था अनिवार्य हुने रहेछ, यसकारण उम्मेदवार बन्ने तय गरेको हुँ ।’

त्यसो त उनी व्यावसायीक जीवनमा आफैं एक अभिभावकजस्ता छन् । अर्बिट अस्ट्रेलिया ग्रुप, अर्बिट इनरोलमेन्ट एजुकेशन कन्सलट्यान्सी, अर्बिट होमस्, एनडीआईएस ई केयर प्लस नर्सिङ एजेन्सी जस्ता स्थापित संस्थामार्फत उनले २५० देखि ३०० नेपालीलाई रोजगारी सृजना गरेका छन् ।

उनी भन्छन्, ‘यो मेरो व्यावसाय त हो नै तर यो भन्दा पनि अर्थपूर्णचाहिँ तीन सय जनाको रोजगारीको केन्द्र हो भन्ने हो । सकारात्मक सोचसँगै योगदान गर्नका लागि जिम्मेवारी लिन तयार हुनुपर्छ ।’

अस्ट्रेलिया गन्तब्य बनाएर आउने विद्यार्थी विभिन्न प्रकारका समस्यामा हुने विषयलाई रसाइलीले कहिल्यै नजरअन्दाज गरेका छैनन् । ‘साह्रो गाह्रो र अप्ठ्यारोलाई सहयोग गर्नु मानव धर्म त हो नै अझ नेपालीका लागि गर्न पाउँदा आनन्द हुन्छ’ उनी भन्छन्, ‘अब यो सेवाको विस्तार संस्थागत रुपमा नै गर्न एनआरएनएमा एउटा जिम्मेवारीमा बस्न लागेको हुँ ।’

विश्व नै कोभिड महामारीले आक्रान्त पार्दा रोजगारी गुमाएका विद्यार्थीका लागि उनले विभिन्न माध्यमबाट सहयोग गरेका थिए । अस्ट्रेलियामा मात्र होइन मातृभूमी नेपालमा पनि विभिन्न संस्थामार्फत आर्थिक सहयोगमा उनले होस्टेमा हैंसे गरेका थिए ।

राज्य उपसंयोजक पदका दावेदार रसाईली सामाजिक सेवासँगै मनोरञ्जनात्मक क्षेत्रमा पनि उत्तिकै सक्रिय व्यक्तित्व हुन् । न्युक्यास्टलमा पहिलोपटक नेपाली सिनेमा ‘बुलबुल’ प्रदर्शन गराएर संस्कृतिको उन्नयनका लागि रसाईली अगाडि बढेका थिए । उनी यहि क्षेत्रमा निर्माणका काममा पनि सक्रिय छन् ।

उनी भन्छन्, ‘आगामी दिनमा न्युक्यास्टलबासी नेपालीको हकहितका लागि समस्या समाधानमा एक कमद अगाडि हुनेछु । कुनै पनि नेपालीले बेरोजगार भएर बस्नुपर्ने छैन । यसकारण पनि जोसिलो टिममा रहेर मैदानमा होमिएको छु ।’ जीत हारको लेखाजोखा मतदाता, नेपाली समुदायको हातमा रहेकाले त्यसको परिणाम सुखद आउनेमा उनी आशावादी छन् ।

प्रतिक्रिया