नवौं महिला विश्वकप आजदेखि, दुई खेलमा प्रतिस्पर्धा हुँदै
अखबार टुडे
प्रकाशित:
२०८०, ४ श्रावण

काठमाडौं, ४ साउन । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको महिला विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । ५० हजारको क्षमता भएको इडेन पार्क न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम हो । उद्घाटन समारोहमा दुई कलाकारले मात्र प्रस्तुति दिनेछ । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गर्नेछन् ।

‘डु इट अगेन’ भन्ने गीतको उद्देश्य महिलाको खेलकुदलाई ठूलो प्लेटफर्ममा ल्याउनमा मात्र नभई सबैमा ध्यान दिइने र समर्थन गरेकोमा पनि संलग्न दृढ संकल्प गर्ने रहेको छ ।

उद्घाटन खेलमा आयोजक न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को यो खेल नेपाली समय अनुसार साँझ ५ बजेपछि हुनेछ । दुवै टोली आफ्नो समूहमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै पहिलो दिन समूह ‘बी’ को खेलमा अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

प्रतिक्रिया