सवा करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४ जना विमानस्थलबाट पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, ४ श्रावण

काठमाडौं, ४ साउन । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका ४ जनालाई ठूलो मात्रामा विदेशी मुद्रासहित पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका चार जनालाई प्रहरीले बुधबार राति पक्राउ गरको हो ।

पक्राउ पर्नेमा सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापा छन् । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको बताइएको छ ।

उनीहरुबाट करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको बताइएको छ । यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया