एसीसी इमर्जिङ कपमा नेपाललाई सान्त्वना जित
अखबार टुडे
प्रकाशित:
२०८०, ३ श्रावण

काठमाडौं, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित निकालेको छ । बुधबार समूहगत चरणको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध तीन विकेटले विजयी भएको हो ।

यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ७१ रन बनाए । यस्तै देव खनाल र सन्दीप जोराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका मोहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपाल पहिलो खेलमा पाकिस्तान ’ए’ र दोस्रो खेलमा भारत ’ए’ सँग पराजित भएको थियो ।

प्रतिक्रिया