तीन सातादेखि गायब छन् चिनियाँ विदेश मन्त्री क्वीन गाङ
अखबार टुडे
प्रकाशित:
२०८०, २ श्रावण

बेइजिङ, २ साउन (एजेन्सी) । चिनियाँ विदेश मन्त्री क्वीन गाङ तीन सातादेखि गायब भएका छन् । गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा नदेखिएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार कोरोना महामारीको प्रभाव कम भएपछि चीनले संसारभरि कूटनीतिक गतिविधि बढाइरहेका बेला विदेश मन्त्री क्वीन गाङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अडकलबाजी हुन थालेको छ ।

जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। बोरेलको बेइजिङ भ्रमण रद्द भयो ।

गत साता इन्डोनेसियाको जकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि क्वीन गाङ सहभागी भएनन् । उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए ।

गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक जना प्रवक्ताले स्वास्थ्यका कारण गाङ इन्डोनेसिया जान नसकेको बताएका थिए । हिजो (सोमबार) यही विषयमा जिज्ञासा राख्दा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन् । उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि पनि सामान्य रूपले चलिरहेको बताइन् ।

विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ । चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

५७ वर्षका करियर कुटनीतिज्ञ उनी राष्ट्रपति सी जिनपिङका निकै विश्वासिला पात्र हुन् । त्यसैले उनले अमेरिकाका लागि चिनियाँ राजदूत रहेका क्वीनलाई गत डिसेम्बरमा विदेशमन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया