आजदेखि पुनः रोकियो काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन
अखबार टुडे
प्रकाशित:
२०८०, १ श्रावण

काठमाडौं, १ साउन । पटक-पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो ।

धुनीबेंसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एकवर्ष बितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति बेवास्ता गरेकाले आजदेखि फोहोर व्यवस्थापनमा रोक लगाइएको छ ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए ।

फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।

यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहोर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।

उनले भने, ‘स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।’

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहोर महिनौँ सडकमै थुप्रने गरेको थियो । कामपाले यसवर्ष वर्ष फोहोर व्यवस्थापनमा कुनै समस्या हुँदैन भने पनि साउन महिना लागेसँगै फोहोर रोकिन थालेको छ । त्यसअघि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहोर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया