भलिबलका राष्ट्रिय कप्तान हरिहजुर थापा बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ असार

काठमाडौं, ३१ असार । राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको आरोप भलिबल संघको छ ।

सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।

छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ ।

यस्तै विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।

छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । सोही क्रममा खेल अनुशासन भन्दा बाहिरको कामहरु भएका थिए ।

प्रतिक्रिया