हिमालय एअरलाइन्स्द्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुवात
अखबार टुडे
प्रकाशित:
२०८०, २८ असार

काठमाडौं, २८ असार । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुने एआरलाइन्सको विश्वास छ ।

यस सेवाको प्रारम्भिक चरणमा ग्राहकले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने यनियन पे र कनेक्ट आईपीएस निकट भविष्यमा उपलब्ध एअरलाइन्सले जनाएको छ ।

साथै, रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको पनि उपभोग गर्न सकिनेछ । एअरलाइन्सले ब्यागेज प्रि–बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग, संयुक्त सेवाहरू (कम्बिनेड सर्भिस) चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक(इन पनि गर्न सक्नेछन् ।

यस नयाँ सेवाको सुरुवात भएकामा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौँ ।

त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।’ यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहज रुपमा टिकट बुकिङ्ग अनुभव प्रदान गर्ने उनले बताए ।

सन् २०१४ मा यती वल्ड इन्भेष्टमेन्ट र तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा हिमालय एयरलाइन्स संचालनमा आएको थियो । हाल कम्पनीले तीनवटा एयरबस ३२०–२१४ र एउटा एयरबस ३१९–११५ गरी कुल चार वटा जहाजमार्फत सेवा दिँदै आएको छ ।

हिमालयले संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनका विभिन्न सहरमा नियमित व्यवसायिक उडान संचालन गरिरहेको छ ।

प्रतिक्रिया