प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
अखबार टुडे
प्रकाशित:
२०८०, २७ असार

काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा असामयिक निधन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीरलाईं श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया