कोरियाले भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

काठमाडौं, २६ असार । गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिब जनताका लागि स्वास्थ्य पहुँच पु¥याउने गरी १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत पाँच वर्ष अर्थात् सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ ।

९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमी नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछ ।

सम्झौता कार्यक्रममा बोल्दै अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका जोखिम रहेका जनतालाई स्वास्थ्य पहुँच दिनेगरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताए ।

उनले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्ने बताए । सचिव पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने जिकिर गरे । उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण अपेक्षा गरेको बताए । उनले उक्त सम्झौता कोरिया नेपालबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन इच्छुक भएको पनि बताए ।

कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ ।

प्रतिक्रिया