ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजियो : माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०८०, २६ असार

रुपन्देही, २६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको दाबी गरेक छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले गलत प्रचार गरिएको बताए ।

उनले भने, ‘यो प्रकरण (ललिता निवास) को उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’

नेपालले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको सबै अपजस लिनुपर्ने भन्ने नहुने बताए । यो प्रकरणमा नाम जोडिएर आफू नआत्तिएको उल्लेख गरे ।

उनले नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए । त्यसो भएका मात्र आम मान्छे डराउँने र अनियमितता, अतिक्रमण र भ्रष्टाचार नियन्त्रण हुने उनले उल्लेख गरे ।

नेपालले प्रचण्ड प्रधानमन्त्री रहेको अहिलेको सरकार नै पाँच वर्ष टिक्ने दाबी गर्दै यही सरकारलाई टिकाइ रहनको लागि गठबन्धन दलभित्र छलफल चलिरहेको र पाँच वर्षसम्म यही सरकार टिकाउने गरी निचोडमा पुग्ने बताए ।

प्रतिक्रिया