संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण- त्यो नभन्नु पर्दथ्यो, थोरै भावनामा आएँ
अखबार टुडे
प्रकाशित:
२०८०, २५ असार

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनको बेला आफू देशको प्रधानमन्त्री भएर नभई जेठी छोरी ज्ञानुको बुबा भएर बोलेको बताएका छन् । उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो स्पष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार १८ गतेको पुस्तक विमोचन कार्यक्रममा ११ वर्षअघिको घटनालाई सम्झेर भावुक भएको र सोहीअनुसार अभिव्यक्ति आएको भन्दै तर आफूले त्यो नबोल्नुपर्ने पछि महशुस भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीको हैसियतले त्यो नबोल्नुपर्ने थियो । त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, ज्ञानुको बुवा भएर बोलेँ ।’

असार १८ गतेको पुस्तक विमोचनमा कार्यक्रममा ०६८÷०६९ सालको घटनाको स्मरण हुँदा आफूबाट त्यस्तो अभिव्यक्ति आएको पनि बताए । प्रधानमन्त्री प्रचण्डका अनुसार, त्यतिबेला जेठी छोरी ज्ञानु दाहालको अवस्था अत्यन्त गम्भीर थियो । उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । छोरा प्रकाश दाहाल र प्रितम सिंहको आफन्तको घनिष्ट सम्बन्ध भएकाले उनकै आग्रहमा छोरीलाई दिल्लीस्थित प्रितम सिंहकै घरमा राखेर उपचार गरिएको थियो ।

त्यतिबेला प्रितम सिंहले आफूलाई नेपालको प्रधानमन्त्री बन्नुपर्ने व्यक्ति भनेको र उनको भनाइमा त्यतिबेलै सदासयता व्यक्त मात्रै गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले आफू अलि बढी भावनात्मक भएको पनि स्वीकारे ।

उनले भने, ‘यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के । थोरै भावनामा आएँ । त्यो कुरा नभनेको भए हुन्थ्यो । जरूरी थिएन । मनमा आयो भने । के राष्ट्रप्रति नै घात गर्ने कुरा हो त ?’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्र्रतिपक्षी दल नेकपा एमालेले गत मंगलबारदेखि संसद अवरोध गर्दै आएको थियो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने बताएपछि संसद खोल्ने एमाले सहमत भएपछि सोमबार प्रतिनिधिसभाको बैठक बसेको थियो । सोक्रममा प्रधानमन्त्रीको यस्तो प्रष्टीकरण आएको होे ।

प्रतिक्रिया