कोशी प्रदेश: माओवादीबाट दुई र कांग्रेसबाट एक मन्त्री नियुक्त, एकीकृत समाजवादी असन्तुष्ट
अखबार टुडे
प्रकाशित:
२०८०, २४ असार

काठमाडौं, २४ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशमा मन्त्री हुनेहरूमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् । यस्तै थापाले कांग्रेसबाट रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने खत्री र कार्कीलाई भने मन्त्रालयको जिम्मेवारी दिइएको छैन । यसअघि शुक्रवार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

यस्तै गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री थापाले पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै असन्तुष्टि जनाएको छ। गठबन्धन दलहरूबिच एकाएक जना मात्रै मन्त्री बनाउने सहमति भए पनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले आपत्ति जनाएको हो ।

उनले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिँदैनौ ।’ एकीकृत समाजवादीका इलामकी प्रदेश सांसद खिनु लङ्वा लिम्बूलाई भौतिक पूर्वाधार विकासमन्त्री नदिने भएपछि असन्तुष्ट भएको बुझिएको छ । उक्त विवादले एकीकृत समाजवादी सपथ कार्यक्रम बहिष्कार गरेको छ ।

प्रतिक्रिया