कतारी राजदूतको गुनासो : पोखरा-दोहा उडानका लागि ६ पटक पत्राचार गर्दा पनि नेपालले जवाफ दिएन
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा उडानका लागि ६ पटक पत्राचार गर्दा पनि नेपालले वास्ता नगरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको बिदाइ भेटमा राजदूत हेलले कतार पोखरा विमानस्थलबाट उडानका लागि तयार रहेको तर नेपालले चासो नदिएको बताएका हुन् ।

उनले पोखरालगायतका विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५–६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको बताए । उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सीधा उडान नियमित गर्न कुनै समस्या नभएको बताएका छन् ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको बताएका थिए । भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पु¥याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए ।

प्रतिक्रिया