नाबालिका बलात्कार घटनामा एलओडीका अर्का सञ्चालक पनि पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २२ असार

काठमाडौं, २२ असार । काठमाडौंको ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बुधबार बालुवाटारबाट पक्राउ परेका थिए । नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले कास्कीको पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जेठ ३१ गते १६ वर्षीया बालिका आफ्नी १ जना साथीसँगै एलओडी पुगेकी थिइन्। एलओडी पुगेकी किशोरीलाई साथीसँगै घरमा पु¥याइदिन्छु भनेर बागडोल पु¥याएर बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ ।

नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो । उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको विषयमा उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया