प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, २० असार

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजिएको आरोप लगाएका छन् ।

गएको सोमबार नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । दाहालले भनेका थिए, ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

सो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले कडा प्रतिवाद गर्ने उद्घोष गरिपछि बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ ।’

प्रचण्डले चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै सङ्गठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताए । उनले नागरिकको मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए । उनले २०८४ को चुनावमा २०६४ सालमा जितेको सिटभन्दा बढी जित्ने दाबी पनि गरे ।

प्रतिक्रिया