काठमाडौं, १८ असार । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । पहिरो झरेको ठाउँमा एउटा मालबाहक ट्रक पनि पल्टिएको थियो ।
यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।
राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्यामा परेका छन् । पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।