नेपाल एअरलाइन्सको ध्यानाकर्षण (यस्तो छ विज्ञप्ति)
अखबार टुडे
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले कोरियाबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्तिको समान हराएको विषयलाई लिएर सामाजिक सञ्जालमा पोस्ट गरिएको बारे ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त पोष्टबारे पर्यटनमन्त्री सुदन किरातीले चासो देखाएपछि आइतबार निगमले विज्ञप्ति जारी गर्दै यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै नगरेको जनाएको छ । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै दामु दाई भन्ने छविलाल भण्डारीले सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

तर, निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिएको निर्देशनअनुसार आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट गत १५ असारमा यात्रा गरेको तर ब्यागेज हराएको सम्बन्धमा नियमअनुसार ब्यागेज क्लेम डेस्कमा सम्बन्धित एयरलाइन्ससँग दाबी वा रिपोर्ट नगरेको पाइएको बताए ।

यसबारे स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको उनको भनाइ छ । साथै, २ वटा मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्रअन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया