माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, १७ असार

भक्तपुर, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा तिरै फर्कनुपर्ने बताएका छन् ।

आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताए ।

उनले भने, ‘अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’

उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले तत्कालीन कम्युनिस्ट एकतालाई दुर्भाग्य बचाउन सकेनौँ । म यसमा कसैलाई दोषारोपण गर्दिनँ । हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ । किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, सङ्घर्ष विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

प्रतिक्रिया