२८ घण्टापछि सञ्चालमा आएको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, यात्रु मर्कामा
प्रकाशित:
२०८०, १७ असार
काठमाडौं, १७ असार । २८ घण्टापछि शनिबार साँझदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति फेरी पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले जानकारी दिए। सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
प्रतिक्रिया