कोशीमा एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १५ असार

काठमाडौं, १५ असार । कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।

कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विस्वासको मत नपाएसँगै अव नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्नेछन् । तर कांग्रेस माओवादीलाई समेत सरकार गठन गर्न पुग्ने बहुमत सांसद नभएकाले अन्योल भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिए ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् । कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए । अब भने उनी पद मुक्त भएका छन् । योसँगै मुलुकको दोस्रो ठूलो दल एमाले संघ र सात वटै प्रदेशमा विपक्षमा धकेलिएको छ ।

प्रतिक्रिया