अदालतकी महिला कर्मचारीमाथि हातपात, वकिल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १४ असार

काठमाडौं, १४ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन् । अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा काठमाडौं–१४ का ३६ वर्षीय वकिल अमिर लामिछाने पक्राउ परेका हुन् ।

बुधबार अपराह्न जिल्ला अदालत कार्यालय भित्र पेसी लिने दिने फाँटमा काम गरिरहेको समयमा अधिवक्ता लामिछानेले जबरजस्ती फाइल लिन खोजेपछि फाइल नदिँदा कर्मचारीमाथि हातपात भएको बताइएको छ ।

पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी समेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेकोमा निजले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपात गरेको उल्लेख छ ।

अधिवक्ता लामिछानेले मुक्का प्रहार गर्दा तामाङको मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको छ । महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया