साउदीस्थित अमेरिकी दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १४ असार

काठमाडौं, १४ असार । साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ । समाचार संस्था अलजजिराका अनुसार यो घटना बुधबार भएको हो ।

समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा नेपाली सुरक्षा गार्डको मृत्यु भएको बताइएको छ ।

ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय खुल्न बाँकी छ । नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् ।

घटनाको अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए । सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए ।

यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए ।

यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ।

प्रतिक्रिया