निजीका शिक्षकलाई पनि सामुदायिक सरह तलब व्यवस्था गर्न मेयर बालेनको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, १४ असार

काठमाडौं, १४ असार । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर भित्रका निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको बताउँदै सो निर्देशन दिएका हुन् ।

उनले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको पनि जानकारी दिएका छन् ।

यस्तै, काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।

यसअनुसार काठमाण्डौ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन मेयर शाहको निर्देशन छ ।

सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न उनले निजी विद्यालयका शिक्षकलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया