दक्षिण कोरियाका जनताको उमेर किन १ देखि २ वर्ष घट्यो ?
अखबार टुडे
प्रकाशित:
२०८०, १३ असार

काठमाडौं, १३ असार । दक्षिण कोरियाले उमेर गणनाका लागि अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेसँगै आफ्ना देशका नागरिकको उमेर १ देखि २ वर्षसम्म घटेको छ । दक्षिण कोरियाले यसअघि उमेर गणना गरिने परम्परागत विधिलाई त्याग्दै बुधबारदेखि अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेपछि आफ्ना नागरिकको उमेर कम हुन पुगेको हो ।

यसअघि कोरियामा आमाको गर्भमै रहेको समयदेखिको उमेर गणना गरिने परम्परागत नियम थियो । फलस्वरुप शिशुको जन्म हुनेबित्तिकै उसको उमेर एक वर्षको हुन्थ्यो र नयाँ वर्षपछि उक्त शिशुको उमेर २ वर्षको हुने गर्थ्यो । उदाहरणका लागि कुनै शिशुको जन्म २०२२ डिसेम्बर ३१ मा भयो भने सोही दिन शिशुको उमेर एक वर्षको हुने र २०२३ जनवरी १ मा शिशुको उमेर २ वर्ष भएको मान्ने गरिन्थ्यो । अर्थात् जन्मिएको दुई दिनमै शिशु २ वर्षको हुने विधि थियो ।

तर, आजदेखि दक्षिण कोरियामा नयाँ प्रणाली लागू भएको छ, जसअन्तर्गत मानिसले जन्मदिनको आधारमा नै आफ्नो उमेर निर्धारण गर्नेछन् ।

गत वर्ष सत्तामा आएदेखि नै राष्ट्रपति युन सुक योलले उमेर गणनाको नियम परिवर्तनका लागि जोड दिइरहेका थिए । उनले परम्परागत उमेर गणना विधिले ’अनावश्यक सामाजिक तथा आर्थिक मूल्य’ सिर्जना गरेको बताउँदै आएका थिए । जापानले यो विधि सन् १९५० मा त्यागेको थियो भने उत्तर कोरियाले पनि ८० को दशकमा हटाएको थियो ।

प्रतिक्रिया