‘संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’बाट विभिन्न ६ कलाकार पुरस्कृत
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पु¥याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् ।

उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहबीच मंगलबार सम्बन्धित कलाकारलाई पुरस्कृत गरेका हुन् । सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा ६ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सपर्मण गरिएको हो ।

यसरी पुरस्कृत हुने श्रष्टामा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोकगायक नविन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक÷ङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन् ।

यस्तै, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुस्कृत भए ।

त्यसैगरी रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ अग्रज रंगकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो । सोही समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । सो पुरस्कार उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरिन् ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीतसंगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि)लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहेर योगदान पुर्याउँदैमा खुशी व्यक्त गर्दै उपराष्ट्रपति यादबले भने, ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोकसंगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’

अध्यक्ष एवं कुलपति निशा शर्माले प्रतिष्ठानको पछिल्लो कार्यबारे जानकारी गराउँदै श्रष्टालाई पुरस्कृत गर्दा श्रष्टामा अझ उर्जा बढ्ने विश्वास व्यक्त गरिन् । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानीत हुने सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरिन् ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुश्मा महराले सहजिकरण गरेकी थिईन् ।समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो ।

पुरस्कृत स्रष्टामध्येबाट बोल्दै गायक गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी लागेको बताए ।

नाट्य संगीत क्षेत्रमा आजिवन यागदान पु¥याएका कलाकारलाई प्रतिष्ठानले आजीवन सदस्य बनाउन पनि उनले अनुरोध गरे ।
यस्तै, प्राज्ञ टीका पुनले नविन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा.डा. रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया