जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख बढीको भ्रष्टाचार मुद्दा
अखबार टुडे
प्रकाशित:
२०८०, १२ असार

काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार २०५७ असार ८ गते सेवा प्रवेश गरेका मिश्रले २०७८ कात्तिकसम्म पारिश्रमिक बचल, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट एक करोड १३ लाख ४५ हजार ८०५ रुपियाँ ४३ पैसा आय गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रवक्ता दाहालले सेवा अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपियाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अनुसन्धानबाट देखिएको बताउनुभयो । यो रकम मिश्रको वैध आम्दानीभन्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपियाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया