आफैँले प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश बनेको भन्दै न्यायाधीश भट्टराईले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०८०, ११ असार

काठमाडौं, ११ असार । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले सोमबार राजीनामा दिएका हुन् । उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज भएको बताएका छन् ।

न्यायाधीश डा. भट्टराईले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरू न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाएका छन् । उनले न्याय परिषद्ले न्यायाधीश राजनीतिक मानिसहरू अपारदर्शी ढङ्गबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको बताए । न्यायाधीश डा. भट्टराईले राजनीतिक मानिसहरू पदमा आएर राजनीतिक आस्थाका लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाए ।

प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हालेपनि संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको बताए । उनले संसदीय सुनुवाइ समिति नै अवैध रहेको भन्दै सुनुवाइ समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको जिकिर गरेका छन् । न्यायाधीश डा. भट्टराईले आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने बताएका छन् ।

प्रतिक्रिया