यति, ओम्नी, सुरक्षण मुद्रणलगायतका प्रकरणमा भ्रष्टाचार देखिए छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ
अखबार टुडे
प्रकाशित:
२०८०, १० असार

काठमाडौं, १० असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका कुनै पनि प्रकरणलाई छुट नहुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यति, ओम्नी, सुरक्षण मुद्रणलगायतका प्रकरणमा भ्रष्टाचार, अनियमितता देखिए कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले ‘नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै यति ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी धेरै काण्डहरू छन् त्यो बारेमा गृहमन्त्रालयको ध्यान कता गएको छ कि छैन? फेरि मिलेमतोमा ढिसमिस हुन्छ कि?’ भन्दै पश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले तथ्य, प्रमाण र अनुसन्धानले देखाए कारबाहीको दायरामा ल्याउने बताए । ‘अरू प्रकरणबारे पनि छानबिन हुन्छ कि हुँदैन भन्ने छ, तथ्य प्रमाण, अनुसन्धानले देखाएअनुसार अनियमितता छ, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन। कुनै प्रकरणलाई पनि छुट हुँदैन,’ उनले भने ।

प्रतिक्रिया