अन्धाधुन्ध हवाई फायर गर्दै वागनर समूह फर्किएपछि रुसमा सम्भावित संकट टर्‍यो (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, १० असार

काठमाडौं, १० असार (एजेन्सी) । रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह रुसको रोस्तोभ–अन–डोन शहरबाट पछि हटेका हुन् ।

पछि हट्ने क्रममा वाग्नर समूहका लडाकुहरूले अन्धाधुन्ध हवाई फायर गरेका छन् । उनीहरुले हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोलाई बीबीसीले प्रमाणित गरेको छ ।

भिडियोमा सडकमा उभिएका मानिसहरूले वाग्नर समूहका लडाकुहरूको समर्थनमा ताली बजाउँदै नारा लगाइरहेको देखिन्छन् । उनीहरू फर्किन थालेका लडाकुहरूको फोटो पनि खिचिरहेका देखिन्छन् । योसँगै रुसमा नाटकीय र अशान्तिपूर्ण दिनको अन्त्य भएको विश्वास गरिएको छ ।

वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले रक्तपात रोक्नका लागि आफ्ना लडाकुलाई युक्रेन नै फर्किन भनिएको जानकारी दिएको बीबीसीले जनाएको छ । रुसको सरकारी मिडिया रिपोर्टका अनुसार प्रिगोजिन अब बेलारुस जाने छन् । साथै उनी र वागनर समूहका लडाकुहरुविरुद्ध लगाइएका आरोपहरु पनि सरकारले फिर्ता लिने छ ।

वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको वागनर समूहको गुनासो छ । साथै मिसाइल आक्रमण पनि आफ्नै भूमिमा गराएको भन्दै वागनर समूह असन्तुष्ट छ ।

यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । वागनर समूहले क्षेत्रीय सैन्य कमाण्ड र मस्को जाने बाटोमा पर्ने वोरोनेज शहरमा रहेको सैन्य इलाका कब्जा गरिसकेको थियो ।

राजधानी मस्कोतर्फ मार्चसमेत सुरु गरेपछि मस्कोमा उच्च सतर्कता अपनाइएको थियो भने ठूला सार्वजनिक समारोहहरु सबै स्थगित गरिएको थियो । वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

वागनर समूहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन पुटिनका निकट र विश्वासपात्र व्यक्ति मानिन्थे । त्यसैले निजी लडाकु समूह वागनरको नेतृत्व पनि पुटिनले प्रिगोजिनलाई दिएका थिए । तर युक्रेनविरुद्ध लडाइँ सुरु भएपछि प्रिगोजिनले पुटिनको खुलेर आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया