नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
अखबार टुडे
प्रकाशित:
२०८०, ८ असार

काठमाडौं, ८ असार । नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरूको संख्या १८० पुगेको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा दुवै देशका प्रतिनिधिहरूले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी क्यामरुन पश्चिम अफ्रिकी मुलुक हो । कूल ४ लाख ७५ हजार ४४० वर्ग किलोमिटर क्षेत्रफल रहेको क्यामरुनमा २७ मिलियन भन्दा बढी जनसंख्या छ ।

१ जनवरी १९६० मा स्वतन्त्र भएको क्यामरुन २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्र संघमा आवद्ध भएको थियो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम)का सदस्यहरु हुन् ।

प्रतिक्रिया