तीन दिनसम्म भारी वर्षाको सम्भावना, बाढी-पहिरोबाट सतर्क रहन आग्रह
अखबार टुडे
प्रकाशित:
२०८०, ८ असार

काठमाडौं, ८ असार । आगामी तीन दिनसम्म बर्षाको सम्भावना रहेको छ । मनसुनी गतिविधि बढेसँगै पर्सि आइतवारसम्म नै देशका केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको हो ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा भारी बर्षा हुने मौसमविद्ले जनाएको छ ।

यस्तै भोलि दिउँसो बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँ र राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एक÷दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

यस्तै पर्सि आइतवार दिउँसो मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।मनसुनी गतिविधि सक्रिय भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया