‘टाइटानिक’को भग्नावशेष हेर्न गएको पनडुब्बी विस्फोट भएको पुष्टि, सवार पाँचै जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ८ असार

काठमाडौं, ८ असार (एजेन्सी) । एटलान्टिक महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका ५ जना सवार पनडुब्बी विस्फोट भएको पुष्टि भएको छ । पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेको हो ।

विस्फोटपछि त्यसमा सवार ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको घोषणा गरिएको छ । टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा छ । त्यसकै १६०० फिट मुनि खोजकर्ताहरुले पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटाएका हुन् । अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको दाबी गरेका छन् ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो । टाइटन बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो ।

सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो । २ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ । टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

प्रतिक्रिया