आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले दिए सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

काठमाडौं, ६ असार । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उपप्राध्यापक चलाउनेको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ । समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा चलाउनेले नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेका थिए । तर मुद्दाको पेशी यही असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र गत आइतबार अदालतमा पुगेको थियो ।

प्रतिक्रिया