बेइजिङ वार्ताको भोलिपल्ट बाइडनले भने- सी ‘तानशाह’ हुन्
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

काठमाडौं, ६ असार (एजेन्सी) । विश्वका दुई ठूला अर्थतन्त्र भएको राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । जारी तनावपूर्ण सम्बन्धकाबीच अमेरिकी विदेशीमन्त्री एन्टोनी ब्लिंकनले हालै गरेको चीन भ्रमणले केही सहजता ल्याउने आकलन गरिएको थियो ।

अझ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ‘आइसब्रेक’ हुने आकलन पनि थियो । तर विदेशीमन्त्री ब्लिंकनले चिनियाँ राष्ट्रपति भेटेको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको अभिव्यक्तिले भने भेटवार्ता खासै उपलब्धिपूर्ण नरहेको संकेत गरेको छ ।

ब्लिंकनले सीसँग भेटवार्ता गरेकोख भोलिपल्ट मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनले सीलाई ‘तानशाह’ भनेका छन् । मंगलबार राति क्यालिफोर्नियामा भएको एउटा चन्दा संकलन कार्यक्रममा बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताए।

उनको भनाइ थियो, ‘जब मैले जासुसी यन्त्रसहितको बेलुनलाई खसाले त्यसमा सी चिनफिङ धेरै दुःखी छन् । उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन । त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हो, जब उनीहरुलाई के भइरहेको छ भन्ने थाहा हुँदैन ।’

अमेरिकी विदेशमन्त्रीसँगको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले ‘केही प्रगति’ भएको बताएका छन् । बाइडनले भने बेइजिङ वार्ताको ‘प्रगति’बारे केही उल्लेख गरेका छैनन् । साथै बेइजिङले बाइडनको पछिल्लो टिप्पणीबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया