जिप दुर्घटनामा परेर निधन भएका मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

धनगढी, ६ असार । जिप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ जाँदै गर्दा मंगलबार बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । सो अस्पतालले मंगलबार साँझ साढे ५ बजे मन्त्री सिंहलाई निधन भएको घोषणा गरेको थियो ।

दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहक पनि मृत्यु भएको थियो । मन्त्रीसहितका तीनै जनाको दाहसंस्कार शनिबार बझाङमै गरिने कार्यक्रम रहेको बताइएको छ । यसैबीच मन्त्री सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया