सञ्चालनमा आएको छ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान
अखबार टुडे
प्रकाशित:
२०८०, ६ असार

पोखरा, ६ असार । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाजले आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाजबाट चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा अवतरण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् । पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । रु २२ अर्ब लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भरेको हो ।

प्रतिक्रिया