राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर
अखबार टुडे
प्रकाशित:
२०८०, ५ असार

काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति उनलाई अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार पेसमेकर मुटुमाथि राखिने सानो यन्त्र हो । यसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमा उल्लेख छ ।

यो भन्दा पहिले राष्ट्रपति पौडेल जेठ ३० गते सामान्य स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए । अस्पतालमा एक दिन चिकित्सकको निगरानीमा राखेर राष्ट्रपति पौडेललाई जेठ ३१ गते डिस्चार्ज गरिएको थियो ।

राष्ट्रपति पौडेलको छाती र पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसको चार दिनपछि चैत २२ गते उनी डिस्चार्ज भएका थिए । वैशाख ५ गते राष्ट्रपति रामचन्द्र पौडेलको फोक्सोमा समस्या आएपछि शिक्षण अस्पतालमा पुनः भर्ना गरिएको थियो ।

सोही समयमा छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाह अनुसार वैशाख ६ गते उनलाई थप उपचारका लागि भारत लगिएको थियो। भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लामो उपचारपछि उनी वैशाख १७ गते डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया