जन्मदिनकै अवसरमा ‘राई इज किङ’ले सार्वजनिक गरे छोरा अर्थात ‘जुनियर किङ’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ५ असार

काठमाडौं, ५ असार । लोकप्रिय गायक नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले छोरा सार्वजनिक गरेका छन् ।
सांगीतिक क्षेत्रमा सधैं चर्चामा आइरहने राजेशपायललाई पछिल्लो केही समयता विवाहका कारण पनि थप चर्चामा छन् । तर, राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा विवाह र सन्तानबारे औपचारिक रुपमा सार्वजनिक नगर्दा विभिन्न खाले टिप्पणी हुँदै आएको छ ।

विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला ‘राई इज किङ’ राजेशपायलले ‘जुनियर किङ’ अर्थात छोरा सायारेमको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्दरचना अग्नि साम्पाङ राईले गरेका हुन् ।

गत वर्ष यसै समयमा राजेशपायलले विवाह गरेको समाचार सार्वजनिक भएको थियो । साथै, समाचारसँगै सायाबुङ र छोरा सायारेमको तस्बिर समेत सार्वजनिक भएको थियो । त्यससँगै राजेशपायलको विवाहबारे विभिन्न खाले चर्चा र टिप्प्प्णी हुँदै आएको छ । तर, उनले सार्वजनिक रुपमा केही बोलेका थिएनन् ।

त्यसैले पनि राजेशपायलको विवाह र सन्तानको विषयलाई लिएर सञ्चारमाध्यमले विभिन्न किसिमबाट टिप्पणी गर्दै आएका छन् । सञ्चारमाध्यमले गरेका टिप्पणीप्रति पनि उनी मौन थिए । त्यसैले कतिपयले भन्थे, ‘राजेशपायलले विवाह गरेको स्वीकारिसके, सार्वजनिक गर्न मात्र बाँकी छ ।’ यसैबेला आज (मंगगलबार) छोरा सायारेमप्रति समर्पित गीत सार्वजनिक गरेर विवाहलाई औपचारिक रुपमा स्वीकारेका छन् ।

सायारेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार विहान ‘ह्याप्पी बर्थ-डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । यससँगै राजेशपायलले औपचारिकरुपमा छोरा स्वीकारेको पुष्टि भएको छ ।

त्यसो त प्रेम, विवाह र मृत्युलाई सार्वजनिक गर्नैपर्छ भन्ने बाध्यकारी छैन । विश्वका चर्चित व्यक्तित्वहरुले गोप्य प्रेम र विवाह सम्बन्धबाट सन्तान प्राप्ती गरेको थुप्र्रै उदाहरण छन् । तर, नेपाली समाजमा त्यो पनि नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई जस्ता व्यक्तित्वको विवाहलाई मिडियाले चासो दिनु सामान्य हो । राजेशपायलको विवाहबारे सञ्चारमाध्यमले टिप्पणी गर्नुको कारण यो पनि हो कि राजेशपायल आफैंमा एक ‘न्युजमेकर’ हुन् । उनी राम्रा वा नराम्रा समाचार र गसिपहरुमा छाइरहेका हुन्छन् ।

नेपाली मिडियामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका गायक राजेशपायलले छोराको जन्मदिनको अवसरमा बर्थ–डे गीत सार्वजनिक गरेर असल र जिम्मेवार बाबुको उदाहरण पेश गरेका छन् । सम्भवतः राजेशपायल, जसले औपचारिक रुपमा स्वीकारोक्ति नगरी छोराप्रति समर्पित बर्थ–डे गीत सार्वजनिक गर्ने पहिलो स्टार हुन् ।

प्रतिक्रिया