शैक्षिक मेला रोकिएपछि काठमाडौं महानगरविरुद्ध १५ करोडको मुद्दा
अखबार टुडे
प्रकाशित:
२०८०, ४ असार

काठमाडौं, ४ असार । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित काठमाडौं महानगरपालिकाविरुद्ध मुद्दा दायर गरेको छ । स्पष्ट आधारबिना महानगरले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै हिसानले क्षति दाबीसहित मुद्दा दायर गरेको हो ।

हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपियाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो । तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो ।

महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक सूचना जारी गरेर एसईईको नतिजा नआएसम्म कक्षा ११ को शुल्क निर्धारण तथा भर्ना प्रक्रिया सुरु नगर्न निर्देशन दिएको थियो । तर मेला आयोजकले आफूहरूको निर्देशनको अवज्ञा गरेको महानगरपालिकाको दाबी छ ।

पत्रकार सम्मेलनमा हिसान, प्याब्सनलगायतका निजी शिक्षालय सञ्चालक सम्बद्ध नौ वटा संस्थाका प्रतिनिधिले स्पष्ट कानुनी आधारबिना महानगरपालिकाले मेला रोकिएको जिकिर गरेका छन् । उनले मेला स्थगित गरेकोबारेमा महानगरपालिकाले आधिकारिक पत्र नदिएको तथा आफूहरूले यसबारे जानकारी लिन खोज्दासमेत महानगरपालिका प्रमुख बालेन्द्र साहले बेवास्ता गरेको आरोप लगाए ।

मेला स्थगित भएपछि भृकुटीमण्डपस्थित सभा हलमा महानगरपालिकाले ताला लगाएको छ। मेलाका लागि तयार स्टल पनि त्यत्तिकै छन् ।

प्रतिक्रिया